पार्टीले गर्दै छ महत्त्वपूर्ण निर्णय, तर बैठक छोडेर मुस्ताङ हिँडे बालेन

  • प्रकाशित मिति : २०८३ भाद्र ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी मुख्यालय वनस्थलीमा बस्दै छ । काठमाडौंमा पार्टीको बैठक बस्दैगर्दा प्रधानमन्त्रीसमेत रहेका पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) भने उपत्यकाबाहिर हिँडेका छन् ।

प्रधानमन्त्री शाह मुस्ताङ यात्रामा निस्किएका छन् । काठमाडौंबाहिर हुने भएपछि उनी पार्टी बैठकमा उपलब्ध हुने छैनन् ।



शाहलाई १३ साउनमा रास्वपाले वरिष्ठ नेता बनाएको थियो । पार्टीको केन्द्रिय समिति बैठकले विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न विभागमा प्रमुख मनोनयन गर्ने निर्णय गर्दै छ ।

उनले गत १७ असारमा १२ मध्ये आफ्नो समूहले पाउने अधिकांश पदाधिकारीको नाम सभापति रवि लामिछानेलाई दिएका थिए । ती नामहरूलाई तत्काल मनोनीत गर्न सभापति लामिछानेले मानेका थिएनन् ।

त्यस्तै, मनोनीत गर्नुपर्ने ५० केन्द्रीय समिति सदस्यमा मनोनीत गर्ने नामहरूमा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीचमा सहमति हुन सकेको छैन ।