कांग्रेसको विवाद सडक र अदालतमा होइन, सानेपामा बसेर समाधान गरौं: प्रदीप पौडेल

  • प्रकाशित मिति : २०८३ भाद्र ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको विवाद र असन्तुष्टि सडक तथा अदालतमा नभई संवादमार्फत समाधान गर्न आग्रह गरेका छन् ।

महामन्त्री पौडेलले एक अपिल जारी गर्दै कांग्रेसले अहिलेको गम्भीर राजनीतिक परिस्थितिमा आफूलाई थप सजग, एकताबद्ध र सुदृढ बनाउनुपर्ने बताएका हुन् ।



उनले गत भदौ २३ र २४ गतेका घटनाक्रमपछि मुलुक कठिन मोडमा पुगेको उल्लेख गर्दै पछिल्ला राजनीतिक गतिविधिले थप चिन्ता पैदा गरेको बताएका छन् । आम निर्वाचनपछि प्रचण्ड बहुमतको सरकार बनेको अवस्थामा सरकारले पाएको जनमत खेर जान नदिन र जनअपेक्षाअनुसार मुलुकलाई सही दिशामा अघि बढाउन सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

पार्टीभित्रको बेमेल र असन्तुष्टिले मुलुकले खोजेको अभिभावकीय भूमिका कमजोर बन्न सक्ने भन्दै पौडेलले समयमै गल्ती नसच्याए इतिहासले कांग्रेसलाई क्षमा नगर्ने चेतावनी दिएका छन् ।

‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन,’ पौडेलले अपिलमा भनेका छन्, ‘नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ ।’

उनले असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई फरक विचारसहित पार्टी केन्द्रीय कार्यालय सानेपा आउन आग्रह गरेका छन् । सानेपामा बसेर मनैदेखि संवाद गर्दै विगतका कमजोरीको सामूहिक जिम्मेवारी स्वीकार गर्नुपर्ने उनले बताएका छन् ।

महामन्त्री पौडेलले आगामी १५औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्व स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार पार्टीभित्रको एकता र सक्रियतामार्फत मात्रै लोकतन्त्रलाई थप सुदृढ बनाउन सकिन्छ ।

उनले वर्तमान सरकारका गतिविधिमाथि खबरदारी गर्न कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन,’ पौडेलले भनेका छन्, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजानेछ ।’

पार्टीका सबै मतभेदलाई थाँती राखेर कांग्रेसको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको भविष्यका लागि एकजुट भएर अघि बढ्न उनले सबै नेता–कार्यकर्तालाई विनाशर्त सानेपा आउन अपिल गरेका छन् ।