प्रधानमन्त्री बालेनले गरे मुक्तिनाथको दर्शन

  • प्रकाशित मिति : २०८३ भाद्र ७, आईतवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले मुस्ताङमा रहेको पवित्र मुक्तनाथ मन्दिरको दर्शन गरेका छन् । शनिबार साँझ स्थलमार्ग हुँदै मुक्तिनाथ मन्दिर पुगेर उनले दर्शन गरेका हुन् ।

प्रधानमन्त्री बालेन मुस्ताङ भ्रमणका लागि शुक्रबार काठमाडौंबाट स्थलमार्ग हुँदै पोखरा प्रस्थान गरेका थिए । काठमाडौंबाट निस्किँदा उनी मुक्तिनाथ दर्शनमा पुग्ने–नपुग्नेबारे खुलाइएको थिएन ।



उनी शुक्रबार राथि कास्की पुगेर अस्ताम गाउँमा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए ।

त्यहाँबाट उनी बिहानै सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका थिए । दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै उनी मुस्ताङको जोमसोम पुगेका थिए । त्यहाँ उनी घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेको बताइएको छ ।

त्यो होटेलमा केहीबेर आराम गरेर प्रधानमन्त्री बालेन मुक्तिनाथ दर्शनका लागि हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उनी मुक्तिनाथ दर्शन गरेर साँझ जोमसोम फर्किसकेका छन् ।

राससको समाचार अनुसार मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री बालेन साँझ ७:३० बजे मुक्तिनाथ मन्दिर प्रवेश गरेकाे बताएका छन् । त्यहाँबाट ८ बजेसम्म पूजाअर्चना गरेर उनी फर्किएका छन् ।

तर, अहिलेसम्म प्रधानमन्त्री बालेनले मुक्तिनाथ दर्शन र पूजाआजा गरेका तस्वीरहरू सार्वजनिक भएका छैनन् ।