नागरिको उद्धारका लागि राज्यका सम्पूर्ण निकायलाई द्रुत रूपमा परिचालन गरियोस् : देउवा

  • प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार
  • नेपाल टेल संवाददाता

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा उच्च जोखिम बढेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

देउवाले रसुवादेखि नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी किनारका क्षेत्रमा बाढीको असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित स्थानमा जान र आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।



उनले राज्यका सम्पूर्ण सुरक्षा निकायलाई सम्भावित जोखिममा परेका नागरिकको उद्धारका लागि द्रुत रूपमा परिचालन गर्न समेत आग्रह गरेका छन् ।

विपद्को अवस्थामा नेपाली कांग्रेसलगायत सम्पूर्ण राजनीतिक दलका नेता–कार्यकर्ता, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिन देउवाले अनुरोध गरेका छन् ।

‘यस विपत्तिमा सबैले संयमित र सतर्क भएर नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ देउवाले भनेका छन् ।