बाढीले बगाएको महिलाको शवबाट सुनका गहना निकालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले मानवीय संवेदनासँगै कानूनी प्रश्नसमेत उठाएको छ ।
बाढीपछि ग्यास सिलिन्डरलगायतका सामान लुछाचुँडी गरिएका दृश्य पनि सार्वजनिक भइरहेका छन् । विपद्को मौका छोपेर अरूको सम्पत्ति आफ्नो बनाउने कार्य कानूनअनुसार चोरीको कसूरमा पर्न सक्छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ अनुसार अरूको स्वामित्व, कब्जा वा नियन्त्रणमा रहेको चल सम्पत्ति सम्बन्धित व्यक्तिको मञ्जुरीबिना बेइमानीको नियतले आफ्नो बनाउन लिएमा वा स्थान परिवर्तन गरेमा चोरी मानिन्छ ।

त्यसैगरी,भूकम्प, आगलागी, बाढी, हुलदङ्गा वा यस्तै सङ्कटापन्न अवस्थाको मौका छोपेर चोरी गरेमा दफा २४२(१)(ग) अनुसार २ देखि ७ वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।
मृतकको शवमा रहेको सुनका गहना पनि मृत्यु भएपछि स्वतः बेवारिसे सम्पत्ति बन्दैन । मृतकको सम्पत्तिमाथि कानूनबमोजिम हकवालाको अधिकार कायम रहने भएकाले गहना अनधिकृत रूपमा निकालेर आफ्नो बनाउने कार्यलाई ‘भेटिएको सामान’ मात्र भनेर दाबी गर्न नमिल्ने कानूनी आधार देखिन्छ ।
तर सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा मात्रै कसैलाई दोषी ठहर गर्न भने मिल्दैन । भिडियो वास्तविक भए–नभएको, घटना कहाँ र कहिले भएको हो, गहना कसको थियो तथा निकाल्ने व्यक्तिको नियत के थियो भन्ने विषय अनुसन्धानबाट पुष्टि हुनुपर्नेछ ।
यदि अनुसन्धानबाट बाढीको विपद्को मौका छोपेर मृतकको गहना वा अन्य सम्पत्ति बेइमानीको नियतले निकालिएको पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि चोरीसम्बन्धी कसूरमा कारबाही अघि बढ्न सक्ने देखिन्छ ।
विपद्का बेला उद्धार र सहयोग गर्नुपर्ने अवस्थामा लुटपाट वा चोरी गरे कानूनले त्यसलाई छुट नदिने व्यवस्था गरेको छ ।