बेपत्ता पत्रकार र पत्रकार परिवारको खोजी गर्न महासंघको माग

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाल पत्रकार महासंघले रसुवा बाढीका कारण बेपत्ता पत्रकार र पत्रकारका परिवारको तत्काल खोजी गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।



विज्ञप्तिमा समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको उल्लेख छ ।

यस्तै नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएको जानकारीमा आएको छ पनि विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ तत्काल आवश्यक पहल गरी उहाँहरूको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, बाढी प्रभावित क्षेत्रमा विद्युतीय आपूर्ति बन्द भई सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा असर पुगेको विषय पनि महासंघको विज्ञप्तिमा उल्लेख छ ।

‘यसर्थ सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन सम्बद्घ निकायसंग महासंघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ती सञ्चारमाध्यम सञ्चालनका लागि वैकल्पिक व्यवस्थामा सहयोग गर्न पनि सबैमा अपिल गरिन्छ ।’