बाढीप्रभावित क्षेत्रमा नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर उपलब्ध रहने

  • प्रकाशित मिति : २०८३ भाद्र १४, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।

यसअघि १४ भदौसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो ।



राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली परिचालन भएको छ ।

नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ ।