भगवान् श्रीकृष्णको जन्म भएको दिनमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहानैदेखि ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा–अर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ । मन्दिर परिसरमा भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न भक्तजन लामो लाइनमा बसेका छन् । भक्तजनहरू भजन–कीर्तन गर्दै तथा भगवान् श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिर पुगेका छन् ।
हिन्दु धर्मावलम्बीले भगवान् श्रीकृष्णलाई धर्म, सत्य, प्रेम र कर्मका प्रतीकका रूपमा श्रद्धा गर्ने गर्छन् । महाभारतमा अर्जुनलाई दिएको उपदेशमार्फत श्रीकृष्णले भक्तियोग, ज्ञानयोग र कर्मयोगको महत्त्वबारे मार्गदर्शन गरेको धार्मिक मान्यता छ ।
जन्माष्टमीका दिन भक्तजनले व्रत बस्ने, मध्यरातमा श्रीकृष्णको जन्मोत्सव मनाउने, कृष्ण मन्दिरमा पूजा–अर्चना गर्ने तथा भजन–कीर्तन गर्ने प्रचलन छ । विभिन्न कृष्ण मन्दिरमा विशेष पूजा, आरती, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदै छन् ।
पाटनको कृष्ण मन्दिरमा दर्शनका लागि आउने भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै व्यवस्थापन तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाका साथै देशका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ ।
विश्वभर रहेका हिन्दु धर्मावलम्बीले पनि भगवान् श्रीकृष्णको पूजा–अर्चना, व्रत तथा धार्मिक अनुष्ठान गरी श्रद्धा र भक्तिपूर्वक जन्माष्टमी मनाउने गरेका छन् ।