बेलायतमा ‘असिस्टेड डाइङ’ वैधानिक बनाउने नयाँ प्रयास असफल

  • प्रकाशित मिति : २०८३ भाद्र २८, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा पछिल्लो समय निकै चर्चाको विषय बन्दै आएको ‘असिस्टेड डाइङ’ अर्थात् स्वेच्छिक मृत्युसम्बन्धी विधेयक झिनो मतान्तरले अस्वीकृत भएको छ।

गम्भीर तथा असाध्य रोगको अन्तिम अवस्थामा पुगेका व्यक्तिलाई निश्चित सर्त पूरा गरी आफ्नो जीवन अन्त्य गर्न चिकित्सकीय सहायता लिन पाउने व्यवस्था गर्ने प्रयास बेलायती संसद्मा दोस्रो चरणमै अवरुद्ध भएको हो।



हाउस अफ कमन्समा शुक्रबार भएको मतदानमा ‘टर्मिनली इल एडल्ट्स (इन्ड अफ लाइफ) बिल’को पक्षमा २७० र विपक्षमा २८६ सांसदले मतदान गरे। केवल १६ मतको अन्तरले विधेयक दोस्रो वाचनमै अस्वीकृत भएको हो। ११ सेप्टेम्बर २०२६ को मतदानमा बेलायती संसद्को आधिकारिक अभिलेखले समेत यही परिणाम पुष्टि गरेको छ।

विधेयक पारित भएको भए इङ्गल्यान्ड र वेल्समा अन्तिम चरणमा पुगेका योग्य वयस्कलाई कडा कानुनी तथा चिकित्सकीय मापदण्ड पूरा गरेपछि चिकित्सकीय सहायतासहित जीवनअन्त्य गर्ने बाटो खुल्ने थियो।
यस विषयमा सदनमा गम्भीर तथा भावनात्मक बहस भएको थियो।

समर्थकहरूले असह्य पीडा भोगिरहेका बिरामीलाई आफ्नो जीवनको अन्तिम निर्णय स्वयं गर्ने अधिकार दिनुपर्ने तर्क राखे भने विपक्षीहरूले यस्तो कानुनले वृद्ध, अपाङ्गता भएका तथा अन्य कमजोर अवस्थाका व्यक्तिमाथि मृत्यु रोज्न दबाब सिर्जना हुनसक्ने चिन्ता व्यक्त गरे।

सांसदहरूलाई पार्टीगत निर्देशनबाट नभई आफ्नै विवेकका आधारमा मतदान गर्ने अवसर दिइएको कारणले पनि बहसले विशेष महत्त्व प्राप्त गरेको थियो। यसअघि पनि यस विषयमा प्रयास भएको भए पनि यो पछिल्लो प्रस्ताव दोस्रो चरणमै अवरुद्ध भएसँगै इङ्गल्यान्ड र वेल्समा असिस्टेड डाइङलाई कानुनी मान्यता दिने तत्कालका लागि पछिल्लो प्रयाससमेत स्थगित भएको छ।