इन्द्रजात्राको साइत सार्वजनिक, आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने

  • प्रकाशित मिति : २०८३ भाद्र २८, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।

इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ । इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत २८ भदौ (आइतबार) को बिहान ९ः५३ को रहेको समितिका अध्यक्ष एवं सहप्राडा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए ।



रुख काट्ने साइत राति ८ः४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको उनले जानकारी दिए । लिङ्गो नगर प्रवेश गराउने साइत ३ असोजको बिहान ८ः०५ बजे रहेको समितिले जनाएको छ ।

इन्द्रध्वजोत्थानको साइत ७ असोजको बिहान ७ः४७ बजे रहेको पनि सहप्राडा भट्टराईले बताए । यसैगरी, इन्द्रजात्राको मुख्य दिन ९ असोजमा तल्लो टोलमा यात्रा गराइन्छ । यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको उनले उल्लेख गरे । १० असोज (शनिबार) मा माथिल्लो टोल यात्रा गराइनेछ ।

१३ असोज (मंगलबार) मा महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ । यसै दिन राति ९ः२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ । लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन हुन्छ ।