अर्घाखाँचीमा कोरोना भाइरस संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, १ जना घाइते

  • प्रकाशित मिति : २०७७ जेष्ठ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

अर्घाखाँचीमा कोरोना भाइरस संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ।

सोमबार राति करिब साढे ७ बजे सन्धिखर्क नगरपालिका-७मा पाँच जना संक्रमित बोकेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर प्रकाश खत्रीले जानकारी दिए।



‘बेलुकी क्वारेन्टिनमा रहेका पाँचजना संक्रमितलाई लिएर वडा नम्बर एकमा रहेको आइसोलेशन सेन्टरमा लैजादैँ गरेको थियो,’उनले भने,’कच्चिबाटो अनि अलि चिप्लो पनि थियो। त्यसपछि चिप्लिएर १५-२० मिटर तल खसेको छ।’

उनका अनुसार धेरै भीर नभएका कारण धेरै क्षति हुनबाट जोगिएको छ। सो दुर्घटनामा एक महिला घाइते भएको र अरू सबै सामान्य छन्।

‘एक जना महिलाको ढाडमा अलि चोट लागेको छ,’उनले भने,’अरू भने सामान्य छन्।’पाँचै जनालाई हाल सन्धिखर्कको आइसोलेसनमा राखी उपचार भैरहेको उनले बताए।