लकडाउन उल्लंघन गर्ने व्यापारीमाथि पानीको फोहोरा

  • प्रकाशित मिति : २०७७ जेष्ठ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

लकडाउन उल्लंघन गर्दै नाराजुलुससहित पसल खोलेपछि प्रहरीले पानीका फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

बालुवाटार नजिकै रहेको खुर्सानीटार क्षेत्रका व्यापारीले सबै किसिमका पसल सुचारुका साथै व्यापार व्यवसाय सञ्चालन गरेपछि प्रहरीले बन्द गर्न आग्रह गरेको थियो । नाराजुलुस र विरोध हुन थालेपछि पानीको फोहोरा हानेर व्यापारीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएका व्यक्तिको यकिन विवरण आइसकेको छैन ।



लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि हुलहुज्जत र प्रदर्शनमा उत्रिएका कारण नियन्त्रणमा लिनुपरेको डीआईजी पोख्रेलले बताए ।

केही दिनयता लामो समयसम्म लकडाउन कायम भएकाले दैनिक जीवनयापन गर्न नै कठिन भएको भन्दै व्यापारीहरुले स्वत:स्फुर्त रुपमा पसलहरु खोल्न थालेका छन् ।