रुकुमपश्चिम घटना : नौ प्रतिवादीको बयान लिइयो

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • नेपाल टेल संवाददाता

चौरजहारी–८ सोती घटनामा अभियोग लागेका नौ जनाको आज बयान सकिएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान आज सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताउनुभयो।

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उहाँको भनाइ छ। बयान बुधबार पनि हुने छ । घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ।



आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको थियो।

यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर, राम नेपाली, विजय विश्वकर्मा र सुष्मा बरालीको अध्ययन टोलीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ।