झुण्डिएको अवस्थामा फेला परेकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

सुर्खेतमा झुण्डिएको अवस्थामा फेला परेकी युवतीमा पनि कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ।

घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो।



असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो। पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा उनमा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयले जनाएको छ।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन्। क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएको थियो।

युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ।