बिहानै थपिए काेराेना संक्रमित

  • प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

हिमाली जिल्ला मनाङमा पनि पहिलोपल्ट कोरोना भाइरस संक्रमण पुगेको छ । मनाङका एक कर्मचारीमा पहिलोपल्ट कोरोना भाइरस संक्रमण फेला परेको छ । मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।



गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको बताइएकाे छ ।

यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका एक जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् ।

यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ । गोरखाकै शहीद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।