सोमवार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ।
गलवान उपत्यकामा भएको उक्त भिडन्तमा कम्तीमा २० जना भारतीय सैनिकहरूको ज्यान गएको थियो र त्यसपछि दुवै शक्ति राष्ट्रबीचको तनाव चुलिएको थियो।
उक्त भिडन्तमा आफ्नोतर्फ भएको सैन्य क्षतिबारे चीनले केही पनि स्वीकार गरेको छैन। दुवै पक्षले अर्को पक्षले सीमामा अतिक्रमण गरेको आरोप लगाएका छन्।
त्यस क्षेत्रमा दुवै राष्ट्रबीचको सीमा रेखा पक्कासँग अङ्कन गरिएको छैन र स्थानीय भौगोलिक परिवर्तनसँगै त्यसमा पनि परिवर्तन हुने गरेको छ। बिहीवार सार्वजनिक भएको तस्बिरमा फलामको डन्डीमा किला ठोकेर बनाइएको घरेलु कच्चा हतियार देख्न सकिन्छ।
उक्त तस्बिर बीबीसीलाई भारत-चीन सीमामा तैनाथ भारतीय सेनाका एकजना वरिष्ठ अधिकारीले उपलब्ध गराएका हुन् र उनले ती हतियार चिनियाँ सैनिकहरूले प्रयोग गरेका बताएका छन्।
उक्त तस्बिरलाई सर्वप्रथम इन्टरनेटको सामाजिक सञ्जाल ट्विटरमा राखेका एकजना प्रतिरक्षा विश्लेषक अजय शुक्लाले त्यस्तो प्रकारको हतियारको प्रयोगलाई “बर्बर” भनेका छन्।
त्यस क्षेत्रमा गोली, बन्दुक, बारुदजस्ता अस्त्रको प्रयोग गर्न नपाइने व्यवस्था सन् १९९६ मा दुवै पक्षबीच भएको सहमति अन्तरगत भएको छ। सीमाको विवादित क्षेत्रमा दुवै पक्षबीच आक्रामक गतिविधि नचर्कोस् भन्ने उद्देश्यले त्यस्तो सहमति गरिएको थियो।
बिहिबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, दोस्रो प्रश्न यो हो कि हिंस्रक झडप त्यतिबेला सुरु भयो जब भारतीय सैनिकले चिनियाँ निर्माण भत्काइदिएको हो वा एलएसी पार गरेपछि हो ?’
उनले थपे, ‘यो विषयमा के गलत हो र के सही, यसमा केही द्विविधा छैन । चीन यसमा जिम्मेवार छैन । हिंस्रक झडप कसरी सुरु भयो भनेर हामीले स्पष्ट रुपमा बताइसकेका छौं । सोमबार राती सीमामा तैनाथ भारतीय सुरक्षा बलले दुबै देशमा कमान्डर स्तरमा भएको छलफलपछि बनेको सहमति तोडिदिए। भारती सैनिकले लाइन अफ एक्चुअल कन्ट्रोल पार गरे र जानीजानी चिनियाँ सैनिकलाई उक्साउन सुरु गरे, यहाँसम्म कि हमला नै गरे । त्यसपछि आमने–सामने झडप भयो र यसैमा हताहत भयो । ।’