चिनियाँ सेनाको कब्जामा रहेका १० भारतीय सैनिकलाई छाडेको भारतीय सञ्चार माध्यमले बताएका छन्।
गल्वान भ्यालीमा भएको हिंस्रक संघर्षकाबेला उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।

मेजर जनरल स्तरमा भएको वार्ता पछि भारतीय सैनिकलाई छाडिएको हो। चीनले कब्जामुक्त गरेका १० सैनिकमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजर पनि सामिल थिए।
भारतीय दैनिक द हिन्दुका अनुसार चीनले भारतीय सैनकलाई हिजो साँझ ५ बजे छाडेको हो ।
भारतीय सेनाले यसअघी हिजो एक विज्ञप्ति जारी गर्दै उसका कुनै सैनिक चीनको नियन्त्रणमा वा बेपत्ता नरहेको जनाएको थियो।
सोमबार राति भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। ७८ भन्दा बढि सैनिक घाइते छन्। उनीहरुको उपचार भइरहेको बताइएको छ।
चीनले बिहिबार कब्जामा रहेका १० सैनिकलाई मुक्त गरेपछि चिनियाँ एक सरकारी पत्रिकाका सम्पादकले घाइतेहरुको उपचार चीनमा गरिनुपर्ने भन्दै ट्विट गरेका छन्।
झडपमा घाइते रहेका भारतीय सैनिकको समयमै उपचार नपाएरै मृत्यु भएको उनको भनाई छ। यसबाट भारतले आफ्ना सेनामा गरेको लगानी निकै कमजोर रहेको उनको टिप्पणी छ।
हु छिजिनले लेखेका छन्, ‘ती १० भारतीय सैनिकहरुलाई राम्रो व्यवहार गरि चीनमै उपचार गरिएको हुनुपर्छ। यसअघि चिसोका कारण मरेका १७ भारतीयहरू भन्दा यिनीहरु भाग्यशाली छन्। वास्तवमा अधिकांश भारतीय सैनिक भारतीय सेनाको कमजोर बन्दोबस्तीका कारण मरेका हुन्। यसमा चीनलाई दोष दिनु हुँदैन।’