काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निकट रहेका दुई विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) छिटै एकता गर्न सहमत भएका छन् । यी दुई संगठनबीच एकीकरण गर्नका लागि निर्माण गरिएका दुई वार्ता समितिबीच आज पहिलो चरणको बैठक भएको हो ।
राप्रविसंका तर्फबाट वार्ता संयोजक वरिष्ठ उपाध्यक्ष शशि भण्डारी, वार्ता सदस्य महासचिव जनक फडेरा र राप्रविसं (संयुक्त)का तर्फबाट वार्ता संयोजक युवराज रानालगायतका सहभागी भएको राप्रविसं केन्द्रीय महासचिव जनक फडेराले जानकारी दिनुभयो । आजको बैठकमा दुबै पक्षले आफ्नो–आफ्नो संगठनको विधान हस्तान्तरण गरेका थिए ।
बैठकले पुनः संयुक्त बैठक बसी संगठनको एकतालाई मूर्तरुप दिने र छिट्टै संयुक्त सचिवालय निर्माण गरी राष्ट्रियताको पक्षमा र शैक्षिक विकृतिविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको पनि महासचिव फडेराले जानकारी दिनुभयो । यसअघि गत वर्ष फागुनमा माउ पार्टी राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भएपश्चात जनवर्गीय संगठनहरु पनि एकता गर्ने क्रममा रहेका छन । यसैको शुरुवातस्वरुप गत शनिबार राप्रविसं. र आइतबार राप्रविसं (संयुक्त)ले आफ्नो–आफ्नो तर्फबाट वार्ता समितिहरु निर्माण गरेका थिए ।