काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बेला भएको आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेको महसुस भएको टिप्पणी गर्नुभएको छ । आजदेखि सुरु भएको पार्टीको स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमा अहंकार बढेको समेत बताउनुभयो ।
पार्टी र सरकारको फाइदाका लागि आफूले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छाडेको तर त्यसले पनि कुनै हित गर्न नसकेको प्रचण्डले बैठकमा बताउनुभएको स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले बताउनुभयो । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै प्रचण्डले फुटसम्म पुगेको पार्टीलाई यहाँसम्म ल्याइएको तर अब कमजोरीहरु सुधारेर अघि नबढे खतरा कायमै रहेको टिप्पणी गर्नुभएको नेता गजुरेलले बताउनुभयो ।
तत्कालीन माओवादी र एमालेबीच पार्टी एकीकरण हुँदा ओली र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको थियो । तर बीचमा प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षको हैसियत प्रदान गर्ने र सरकारको नेतृत्व पाँच वर्षसम्मै ओलीले गर्ने सहमति दुवै पक्षबीच भएको थियो । यद्यपि कार्यकारी अध्यक्षको हैसियत प्राप्त नभएको गुनासो प्रचण्डले बेला बखत गर्दै आउनुभएको छ ।
सोही क्रममा आजको स्थायी कमिटि बैठकमा पनि प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छाडेर गल्ती गरिएको हो कि भन्ने महसुस भएको टिप्पणी गर्नुभएको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कमीकमजोरीहरु रहेको र त्यसलाई सुधारेर अघि बढ्नुपर्ने आशय प्रचण्डले व्यक्त गरेको बताउनुभयो । प्रचण्डले पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमजोरीहरुको समीक्षा गर्दै त्यसको जिम्मेबारी लिएर आत्मोलोचना गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकमा प्रचण्डको आक्रामक अभिव्यक्ति सुनेपछि प्रधानमन्त्री ओलीले निकट नेताहरुसँग केही निराशा व्यक्त गरेको बताइएको छ । ओलीले नेतृत्वकाविरुद्ध बहुमतको खेल चलिरहेको र त्यसले पार्टी र सरकारको कामलाई बाधा पु¥याइरहेको समेत बताउनुभयो । उहाँले गुटउपगुटकै कारण पार्टी विभाजनको संघारमा समेत पुगेकोले पार्टी हित र अनुशासन विपरितका कार्य कसैले गर्न नहुने बताउनुभयो । उहाँले पार्टी र सरकारबारे स्वस्थ आलोचना र समिक्षा गर्न नेताहरुलाई आग्रह गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
दल फुटाउन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि पार्टी फुटको संघारमा पुगेको थियो । अध्यक्ष प्रचण्डले पार्टी र सरकार दुवैको नेतृत्वबाट राजीनामा दिन ओलीलाई दबाब दिनुभएको थियो । विवाद कहाँसम्म पुगेको थियो भने ओली पक्षले सत्ता बचाउन र प्रचण्ड माधव नेपाल पक्षले सरकार ढाल्न हस्ताक्षर अभियान नै चलाएका थिए । तर पार्टीमा निर्णायक भूमिकामा रहेको बावदेम समूह दाहाल नेपाल समूहको गठबन्धन छोडेर ओली क्याम्पमा छिरेपछि ओलीलाई सत्ताबाट हटाउने खेल समाप्त भएको थियो ।