२७ जिल्लामा पुग्यो सलह, प्युठानमा मकै बाली ‘सखाप’

  • प्रकाशित मिति : २०७७ असार १७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकासहित मुलुकका २७ भन्दा बढी जिल्लामा पुगेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएको हो ।



केन्द्रका अनुसार सलहका ५ वटा झुन्ड भारतबाट नेपालमा प्रवेश गरेका छन् । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स-सना समूहहरू भने अन्य जिल्लाहरूमा समेत देखिएका छन् ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो भएको बताए । भैरहवामा प्रवेश गरेको सो झुन्ड टुक्रिएर ३ तिर लागेको देखिन्छ । यो झुन्ड पश्चिम भेगतिर गइरहेको सलह सूचना केन्द्रले जनाएको छ ।
यो झुन्ड टुक्रिएर प्युठान र दाङ पुगेको छ । प्युठान पुगेको उक्त झुन्ड टुक्रिएर रोल्पा हुँदै सल्यान पुगेको सुवेदीले जानकारी दिए ।

यस्तै मंगलबार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका झुन्डहरू देखिएका छन् ।

भारतमा केही दिनयता पश्चिबाट पूर्वतिर हुँदै हावा बहने गरे पनि उत्तर प्रदेश र बिहारमा हावाको चाप कम भएपछि पश्चिम उत्तरतिर हावा मोडिने क्रममा सलह नेपाल प्रवेश गरेको किट विज्ञहरूले बताएका छन् ।

हालसम्म सलह देखिएका जिल्लाहरू :

बारा, पर्सा, मोहत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, सर्लाही, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङजा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोकमा सलह देखिएको छ ।