बझाङको पहिरोमा पुरिएकाको उद्दार गर्न गएको सेनाको गाडी दुर्घटना

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

चैनपुर । बझाङको केदारस्युँ गाउँपालिका–८ मा गएको पहिरोमा पुरिएकाहरुको उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शनिबार दिउँसो बझाङ सदरमुकाम (तलकोट)बाट उद्धारका लागि गएको सेनाको गाडी पहिरो गएको स्थानमा पुग्नै लाग्दा दुर्घटनामा परेको हो ।



गाडी दुर्घटना हुँदा करिब ४ जना सैनिक कर्मचारी घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।

बझाङको केदारस्युँग गाउँपालिका–८ मल्लेसगाउँमा गएको पहिरोले १८ घर बगाएको थियो भने ७ जना पहिरोमा पुरिएका थिए । हालसम्म ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु पुष्टि भएका ४ जनाकै शव निकालिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका अन्य ३ जनाको खोजी जारी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पहिरोमा पुरिएर मृत्यु भएका स्थानीय ४० वर्षीया राममति जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग, ८० वर्षीय दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको शव निकालिएको हो ।

पहिरोमा पुरिएका अन्य ३ जना मृतक राममति जेठाराकी १६ वर्षीया छोरी अस्मिता, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।