काठमाडौं । ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
नेपाली सेनाले निर्माण जिम्मा पाएको तराईँ–मधेस द्रुत मार्ग फास्ट ट्र्याकको जीरो किलो क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।
झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन्। फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।
काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ(भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विरोध गर्दै आएका छन् ।
पछिल्लो समय सरकारले फास्ट ट्र्याक निर्माणका लागि जमिन अधिग्रहण गर्ने सूचना प्रकाशित गरेपछि स्थानीय सरकारले अधिग्रहणमा पर्ने जमिनलाई खनजोत गर्न रोक लगाउँदै आएको छ ।
धान दिवस (असार १५) का दिन पनि स्थानीयहरुले खेतमाम रोपाइँ गर्न खोज्दा प्रहरीले रोकेको थियो ।