जापान। केही दिनको भीषण वर्षापछिको बाढीले जापानमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
जापानको दक्षिण पश्चिमी क्षेत्रमा आएको बाढीले एउटा नर्सिङ होम नै बगाएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा केही ठाउँमा बाढीले ठूलो संख्यामा घरहरु बगाएको छ ।
जापानी सञ्चारमाध्यमहरुका अनुसार नर्सिङ होमका १४ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य १७ जनाको पनि मृत्यु भएको आशंका गरिएको एनएचकेले उल्लेख गरेको छ । बाढीपहिरोमा परि दर्जनौं बेपत्ता भएका छन् ।
बाढी कारण करिब ८ हजार घरमा बत्ती नभएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई वटा प्रिफेक्चरका ७५ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गर्नुपर्ने अवस्था रहेको जापानी अधिकारीहरुले चेतावनी दिएका छन् ।