काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७१० जनामा पिसीआर परीक्षणमा २९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
आज काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा १ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन् ।
मन्त्रालयका अनुसार आइतबार देशभर ३१ हजार ५७३ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार २०३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १ सय ३२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।