काठमाडौं । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
हेर्नुस् उक्त भिडियो
केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।
आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।
भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । उनले भने, ‘त्यतिवेलाको परिस्थिति जस्तो सुकै भए पनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ, दोषी ठहरिए कानून अनुसार कारबाही हुन्छ ।’