भोटेकोशीमा बाढी : २ जनाको शव भेटियो, १८ जना वेपत्ता

  • प्रकाशित मिति : २०७७ असार २५, बिहीबार
  • नेपाल टेल संवाददाता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी बाढी आउँदा दुई जनाको शव भेटिनुका साथै १८ जना वेपत्ता भएका छन्।

बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण २ जनाको शव भेटिनुका साथै १८ जना वेपत्ता भएको बाह्रबिसे नगरपालिकाकी उप प्रमुख सुशीला पाख्रीनले पुष्टि गरिन्।



उनले कुरा गर्दै भनिन्, ‘राति १२ तिर बाढी आएको हो। वर्षा भइरहेका कारण हामी समयमै त्यो स्थानमा पुग्न सकेका थिएनौँ । अहिले बिहान मात्रै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ।’

बाढीले अरनिको राजमार्गमा क्षति पुर्याउनुका साथै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ।

बाढीले आपतोल भन्ने ठाउँमा पक्की पुल बगाउनुका साथै सो स्थानमा करिब १२ वटा घर बगाएको छ। त्यसभन्दा करिब आधा किलोमिटर अगाडि वडा नं ५ र ८ को बीचमा पनि बाढीले केही घरहरु बगाएको उनले जानकारी दिइन्।

बाढीले जलविद्युत आयोजनाहरुमा पनि ठूलो क्षति पुर्याएको छ ।