सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित एक अदालतले ठगी मुद्दाका आरोपी नेपाली विद्यार्थीलाई १८ महिनाको जेल सजाय सुनाएको छ ।
सन् २०१८ मा ‘आईटी’ अध्ययनका लागि अस्ट्रेलिया पुगेका ती नेपाली विद्यार्थी भारतीय गिरोहको संलग्नतामा हुने ठगीका एक सदस्य रहेको पाइएका थिए ।
ती नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको न्यू साउथवेल्स प्रहरीले गत मार्च ३ तारिखमा पक्राउ गरेको थियो । प्रहरीले उनलाई स्थानीय बरउड अदालतमा पेश गरेको थियो ।
अदालतमा दिएको बयानका क्रममा ती २० वर्षीय नेपालीले ठगी कान्डमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए ।
उनले एउटा भारतीय ठगहरुको गिरोहको सम्पर्कमा रहेर ठगीमा संलग्न रहेको स्वीकारेका थिए । भारतीय ठगहरुको गिरोहका सदस्यहरुले बैंकबाट क्रेडिट कार्ड लिएका सर्वसाधारणलाई आफूहरु बैंकको प्रतिनिधि भएको भन्दै कार्डमा समस्या देखिएको बताउने गरेका थिए ।
ग्राहकबाट क्रेडिट कार्डको समस्या समाधान गरिदिने भनेर कार्ड लिएपछि उनीहरुले उक्त रकम आफ्नो खातामा ट्रान्सफर गर्ने गरेका थिए । गिरोहका सदस्यहरुले आफूले पाउने कमिसन रकम राखेर बाँकी पैसा गिरोहका मुख्य व्यक्तिलाई पठाउने गर्थे ।
नेपाली विद्यार्थीले पनि अरुको क्रेडिट कार्डको रकम आफ्नो खातामा पठाइ आफ्नो कमिसन राखेर बाँकी रकम भारतीय गिरोहका मुख्य व्यक्तिलाई पठाएको बयान दिएका छन् ।
यस्तै, प्रकृतिको घटनामा संलग्न रहेको अभियोगमा २ हप्ता अगाडि मात्रै अरु २ जना नेपाली पक्राउ परेका छन् । १९ वर्षीय किशोर र १८ वर्षीया किशोरीलाई प्रहरीले क्रेडिट कार्ड ठगीमा संलग्न रहेको भन्दै पक्राउ गरेको हो ।