काठमाडौं । सरकारले यात्रुसँग ५० प्रतिशत बढि भाडा लिएर सार्वजनिक यातयात चलाउन अनुमति दिएको छ।
दुई दिन अघिको मन्त्रिपरिषद् बैठकले जिल्लाभित्रै चलाउन पाउनेगरि सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको हो।
तर, यातायात व्यवसायीहरुले आफूहरुको माग अझै पुरा नभएको भन्दै यातायात सूचारु नगर्ने निर्णय गरेका छन्।
व्यवसायीहरुले यातायात नखुलाउने अडान लिएपछि सरकारको निर्णय कार्यान्वयनमा आउन सकेको छैन।
धेरै मजदुरहरु सार्वजनिक गाडीको अभावमा अहिलेपनि घण्टौं पैदल हिँडेर काममा जाने गरेका छन्।
यसैबीच, अन्य सार्वजनिक यातायात खुल्न/नखुल्ने अन्यौल रहेका बेला साझा यातायातले भने आफ्नो सेवा सुरु गर्ने भएको छ।
साझा यातायातका अध्यक्ष कनकमणी दिक्षीतले एकदुई दिन भित्रै सुरक्षाका मापदण्ड अपनाएर साझा यातायात सूचारु हुने बताएका छन्।
यात्रुहरुलाई सेवा गर्न निकै आतुर भएको भन्दै दिक्षीतले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन्।