आचार संहिता विपरीतका गतिविधि नगर्न देउवालाई पौडेल समूहको चेतावनी

  • प्रकाशित मिति : २०७७ श्रावण १, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विभिन्न विभागमा सदस्य थप गर्ने काम भइरहेकाले त्यसलाई रोक्न माग गर्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले निर्वाचन समितिलाई सम्बोधन गर्दै बिहीबार संयुक्त हस्ताक्षरसहितको पत्र निर्वाचन समितिलाई बुझाएका छन् । सभापति देउवालाई बोधार्थ पठाइएको पत्रमा विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको छ ।



उनीहरुले पार्टी कार्यालय सानेपामा मुख्यसचिव र निर्वाचन समितिमार्फत सभापतिको लिखित ध्यानाकर्षण गराएका छन् । थप गरिएका विभागमा सदस्य थप गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

“नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भै चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि ‘असाधारण परिस्थिति’ भन्दै थपिएको अधिकतम एक वर्षको कार्यकाल पनि पाँच महिनामा लागिसकेको छ । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका दोहोर्याएर समेत सार्वजनिक भइ महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेको छ,”  लिखित सुझावमा भनिएको छ ।

अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन निर्वाचन समितिको ध्यानाकर्षण गराइएको लिखित पत्रमा उल्लेख छ ।

‘विधि पद्दति मिचेर हाल गठन भएका र भइरहेका उक्त विभागहरु अस्वीकार्य रहेको जानकारी गराउँदै आसन्‍न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एवं विभिन्‍न अचारसंहिता विपरीतका मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता एवं शुभेच्छुक साथीहरुलाई आह्वान गर्दछौ,’ पौडेल पक्षले निर्वाचन समितिलाई बुझाएको पत्रमा उल्लेख छ ।