अब सार्वजनिक यातायात चल्ने

  • प्रकाशित मिति : २०७७ श्रावण ४, आईतवार
  • nepaltale.com

काठमाडौँ । गत चैत ११ देखि सुरु भएको लकडाउनका कारण अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन्।

सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले अटेर गर्दै आएका थिए। तर मौद्रिक नीतिले यातायात व्यवसायीको माग सम्बोधन गरेपछि व्यवसायीले यातायात सञ्चालनको तयारी थालेका हुन्।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दुई-तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिए। उनले भने, ‘हामी भोलि र पर्सि सरकारसँग छलफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ। मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्र मात्रै खुलेर हुँदैन।’

सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ। सहुलियतपूर्ण कर्जा, पुनरकर्जाको व्यवस्था गरेको छ। कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ । जसले गर्दा यातायात सुचारु गर्न सहज भएको महासङ्घले जनाएको छ।