आजदेखि त्रिविका क्याम्पसहरु खुले

  • प्रकाशित मिति : २०७७ श्रावण ७, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । १२० दिन लामो लकडाउन अन्त्य भएसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आज (बुधबार) देखि खुलेका छन्।

लकडाउनसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ।



क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय भने सन्चालन नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ। त्रिवि रजिष्ट्रारको कार्यालयले सुचना जारी गर्दै त्रिविका क्याम्पसहरु खुलेको जानकारी दिएको हो।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यो बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो। शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो।

गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेरसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिवीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।