काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक अनिश्चित कालका लागि स्थगित भएसँगै पार्टीमा देखिएको विवाद थप उत्कर्षमा पुगेको छ ।
बारम्बार स्थगित हुँदै आजको लागि बोलाइएको बैठक शुरु हुनु भन्दा केही अघिमात्र स्थगनको सूचना जारी गरिएको छ ।
बैठकमा भाग लिनका लागि नेताहरु बालुवाटार पुगेपछि मात्र सूचना जारी भएपछि थप समस्या उत्पन्न भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए ।
बैठकमा सहभागी हुन भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार तर्फ जाँदै गर्दा बैठक स्थगन भएको सूचना पाएका स्रोतको भनाइ छ ।
उनलाई अध्यक्ष ओलीले फोन गरेर बैठक स्थगन गर्नुपर्ने बताएका स्रोतको दाबी छ ।
आज ११ बजेका लागि बोलाइएको बैठक ओलीले प्रचण्डसँग सल्लाह नगरी स्थगित गरेको स्रोतको दाबी छ ।
यसअघि हिजो प्रचण्डको निवासमा नेता माधव कुमार नेपालसहितका सचिबालय सदस्यले ओलीले बैठक स्थगन गर्न खोजेपनि प्रचण्डले बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री र अध्यक्षदुबैबाट राजीनामा दिनुपर्ने प्रचण्ड नेपाल समूहको अडानलाई ओलीले अस्वीकार गर्दै आएका छन् ।
स्थायी कमिटी बैठकमा पनि अधिकांश सदस्यले राजीनामा माग गरेपछि दुई अध्यक्षबीचको सहमतिका लागि भन्दै बारम्बार बैठक स्थगन हुँदै आएको छ ।