सिंहदरबारमा कोरोना आतंक– गृह मन्त्रालयका सचिव क्वारेन्टाइनमा, राहत शाखा सिल

  • प्रकाशित मिति : २०७७ श्रावण २१, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आफूलाई भेटेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने क्वारेन्टाइनमा बसेका छन् ।

केही दिन अगाडि भेटघाटका लागि गृह मन्त्रालयस्थित कार्यकक्षमै आएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि सचिव न्यौपाने क्वारेन्टाइनमा बसेका हुन् ।



यस्तै, गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाका एक कर्मचारीको परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि शाखा नै सिल गरिएको छ ।

कर्मचारीको परिवारका सदस्यमा संक्रमण देखिएपछि राहत तथा तथ्याङ्क व्यवस्थापन शाखाका कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार क्वारेन्टाइनमा राखिएका व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

‘सचिवज्यूसँग भेटघाट गरेका व्यक्तिमा संक्रमण देखिएपछि उहाँ अहिले क्वारेन्टाइनमा हुनुहुन्छ । राहात शाखाका कर्मचारीको परिवारका सदस्यमा पनि कोरोना देखिएकाले शाखा नै सिल गरिएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले क्वारेन्टाइनमा रहनुभएका सचिवज्युसहित सबै कर्मचारीको स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।’

सिंहदरबारमा कोरोना आतंक

सरकारले साउन पहिलो हप्तादेखि लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै खुला भएको आवतजावतका कारण अहिले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि कोरोना भाइरसको आतंक फैलिएको छ ।

केही दिन अगाडि मात्रै शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।

सचिव अधिकारीमा कोरोनाको लक्षण देखिएपछि उनी जाने भनिएको संसदीय समितिको बैठक नै स्थगित भएको थियो । हाल उनी क्वारेन्टाइनमा रहेका मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सचिव अधिकारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको भनिए पनि नतिजा आए–नआएकोबारे जानकारी प्राप्त भइनसकेको शहरी विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेसँगै सरकारले सिंहदरबारभित्र काम गर्ने कर्मचारीको पनि कोरोना परीक्षण गर्ने नीति अंगालेको छ । गत बुधबार मात्रै कार्यालय सहयोगी, सवारी चालक तथा बाहिरी मान्छेको सम्पर्कमा आउने कर्मचारी गरी ५ सय ८ जनाको स्वाब संकलन गरिएको थियो ।

तर, ती स्वाबको परीक्षण नतिजा भने सार्वजनिक गरिएको छैन ।