काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याको अध्ययन अघि बढाउन आग्रह गरेका छन् । शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै प्रधानमन्त्रीले अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो ।”
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारी दिए ।
“प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ” वडाध्यक्ष सुवेदीले भने ।
हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
हालको वडा नम्बर ९ यसअघिको अयोध्यापुरी गाउँ विकास समितिमा पर्थ्यो ।
यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई शनिबार भेटका लागि बोलाएका छन् । माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाएको जानकारी दिए । ढकालका अनुसार वडाध्यक्ष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माडी अध्यक्ष प्रभु महतो, सचिव नारदमणि पौडेलसहितको टोली प्रधानमन्त्रीलाई भेट्न आज काठमाडौँ आउँदैछ ।