काठमाडौं । काठमाडौं उपत्यकाका नगरपालिकाहरुले काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई सुझाव दिएका छन् ।
आइतबार रक्षा मन्त्रालयमा भएको छलफलमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेसँग भेट गरि उपत्यका नगरपालिका फोरमले काठमाडौं प्रवेश गर्ने नाकामा थप कडाइ गर्न सुझाव दिएको हो ।
उपप्रधानमन्त्री पोखरेलसँग फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका थिए ।
फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका अध्यक्ष विद्यासुन्दर शाक्यका अनुसार पोखरेलसँग कोभिड–१९को नियन्त्रण र यसका लागि चल्नुपर्ने कदमबारे छलफल भएको बताए ।
घना बस्ती भएको काठमाडौंमा कोरोना संक्रमण समुदायमा फैलने खतरा रहेकाले उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरिएको उनले बताए ।
फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखी क्वारेन्टिन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टिन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले बताए ।
त्यस्तै बिरोध र समर्थनमा हुने ¥याली, धर्ना जुलुसमाथि पनि कडाइ गर्न फोरमले सरकारलाई सुझाव दिएको छ। ।
त्यस्तै शाक्यले उपत्यकामा कोरोना नियन्त्रण गर्नका लागि सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएको बताए ।