पाल्पाको निस्दीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ श्रावण २८, बुधबार
  • नेपाल टेल संवाददाता

पाल्पा । पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै मंगलबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने थप ६ जना घाइते भएका छन् ।

निस्दी गाउँपालिका.५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी.४, मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै मृत्यु भएको हो । निस्दी रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरीका अनुसार घाइते हुनेहरूमा निस्दी ५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया तिलकुमारी सारु रहेका छन् ।



त्यस्तै निस्दी ४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरेर उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक र सहचालक भने फरार रहेका छन् । जिपमा सवारी चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।