पूर्व मन्त्री बस्नेतलाई कोरोना परीक्षणका लागि स्वाब दिन नगरपालिकाको आग्रह

  • प्रकाशित मिति : २०७७ श्रावण २९, बिहीबार
  • नेपाल टेल संवाददाता

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई कोरोना जाँचका लागि स्बाव दिएर सहयोग गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेका छन् । परिवारले स्वाब दिन नमान्दा सहभागी मलामी र नगरबासीमा त्रास रहेको भन्दै उनले भनेका छन्, ‘नगरवासी र अन्यको स्वास्थ्यप्रति सजग हुनु सुरु गरिएको स्वाब संकलनमा सहयोग गर्नु मृतकका परिवारसहित संक्रमणको जोखिममा रहेका सबैको दायित्व पनि हो ।’



पूर्वसञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतका बुवाको दाहसंस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएसँगै शवलाई छोएका व्यक्तिको स्वाब हिजो संकलन गरिएको थियो । तर, पूर्वमन्त्रीसमेत रहेका मृतकका छोरा मोहनबहादुर बस्नेत र उनका परिवारका अन्य सदस्यले भने स्वाव दिन अस्वीकार गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ निवासी ८४ वर्षीय खड्गबहादुर बस्नेतको यही साउन २२ गते त्रिवि शिक्षण अस्पताल (महराजगन्ज) मा उपचारका क्रममा निधन भएको थियो ।

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव सोही दिन गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे लगि दाहसंस्कार गरिएको थियो ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतको पिताको अन्तेष्टिमा धेरै मानिसको सहभागीता रहेको थियो ।

बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार करिब १५ सय मानिस मलामी थिए ।

मृत्युपछि कोरोना पुष्टि भएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ ।

मृतकमा संक्रमण पुष्टि भएसँगै मलामी गएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

बुधबार पहिलो चरणममा मृतकलाई छोएका तथा धेरै नजिकका मानिसको स्वाब संकलन गरिएको छ ।

तर, पूर्व मन्त्रीसमेत रहेका खण्डगबहादुरका छोरा मोहनबहादुर बस्नेतले भने स्वाब दिन अस्वीकार गरेका छन् ।

बुधवार जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मीको टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन अस्वीकार गरेको बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाले जानकारी दिए ।