दशैंमा देशभरका मन्दिर बन्द हुने, सर्वसाधारण पूजा गर्न गए प्रशासनले पक्राउ गर्ने

  • प्रकाशित मिति : 2020-10-17
  • nepaltale.com

काठमाडौं । आज (शनिबार)देखि हिन्दू नेपालीको सबैभन्दा ठूलो चाड दशैं शुरु भएको छ ।

पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी प्रतिपदादेखि नवमीसम्म फरक देवीहरुको पूजा गरिन्छ ।

प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । तर, यस वर्ष दशैंको पूजा घरमै सीमित पार्नुपर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभरका शक्तिपीठहरुमा नित्य (नियमित) पूजा मात्रै गर्न भनेको छ । दशैंको अवसरमा शक्तिपीठमा जम्मा भएर भीडभाड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।

गृह मन्त्रालयको निर्देशनसँगै धेरै जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका शक्तिपीठहरुलाई निषेधित क्षेत्र घोषणा गरेका छन् ।

निषेधित क्षेत्र घोषणा गरिएका ठाउँमा प्रशासनको निर्णय अवज्ञा गरेर भेला भएमा संक्रममक रोग ऐन, २०२० अनुसार कारबाही हुने जनाइएको छ ।

गृह मन्त्रालयले शक्तिपीठ तथा मन्दिरहरुमा मन्दिरकै तर्फबाट गरिने नित्य पूजा बाहेकका अन्य सम्पूर्ण कार्य तथा गतिविधि नगर्न नगराउन भनेको हो ।

दशैंका बेला हुने पूजाआजाका लागि मन्दिरमा भेला हुँदा कोरोना भाइरसको संक्रमण झन फैलिने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देखाएको चासोअनुसार गृह मन्त्रालयले देशभरका शक्तिपीठहरु भेला हुन नपाइने आज्ञा जारी गर्न देशभरका ७७ वटै सीडीओहरुलाई निर्देशन दिएको हो ।

यद्यपि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज दोस्रो सातादेखि देशभरका शक्तिपीठ तथा देवालयहरु खुला गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।

पर्यटन मन्त्रालयले सीसीएमसीमा पठाएको प्रस्ताव अहिलेसम्म पनि अगाडि बढेको छैन ।

गृह मन्त्रालय प्रवक्ता एवम् सहसचिव चक्र बुढा शक्तिपीठ तथा देवालयहरु खोल्ने सम्बन्धमा मन्त्रिपरिषदले कुनै निर्णय नगरेको अवस्थामा सोहीअनुसार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरिएको बताउँछन् ।

कोरोना भाइरस संक्रमण जोखिम कम गर्न भन्दै देशव्यापी लकडाउन घोषणा गर्दा नै सरकारले धार्मिक संघ संस्था, मन्दिर, चर्च, गुम्बा, मस्जिद लगायत खोल्न नपाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अहिले पनि कार्यान्वयनमा नै छ ।