बाटोमा फालेको झोला खोलेर हेर्दा सशस्त्र प्रहरीले फेला पार्‍यो ३ लाख भारु

  • प्रकाशित मिति : २०७७ कार्तिक ३, सोमबार
  • nepaltale.com

महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीको मटिहानी नगरपालिका–८ गान्धीगल्लीबाट ३ लाख भारतीय रुपैयाँसहित १ झोला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट मटिहानीबाट गस्तीमा खटिएको टोलीले आइतबार गान्धीगल्लीबाट ३ लाख भारु भएको एक झोला बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार झोला बोकेर सडकमा हिँड्दै गरेका एक व्यक्तिले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि झोला सडकमै फालेर भागेका थिए ।

सशस्त्रले झोला खोलेर चेक जाँच गर्दा झोलामा ३ लाख भारु फेला परेको हो ।

बरामद भएको ३ लाख भारुसहित झोलालाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।