काठमाडौंमा युवतीमाथि बलात्कार पछि हत्या प्रयास, धनुषाबाट झट्केलो बाबु पक्राउ

  • प्रकाशित मिति : २०७७ माघ १७, शनिबार
  • nepaltale.com

काठमाडौं । झट्केलो छोरी (आफ्नी श्रीमतीको पहिलाको श्रीमान् पट्टीकी छोरी)को बलात्कार पछि हत्या प्रयास गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको कमल नगरपालिका–५ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा बस्ने ४० वर्षीय भोला यादव छन् ।

प्रहरीका अनुसार यादव यादव जम्बुडाँडास्थित सिद्धार्थ कलेज अफ टेक्निकल साइन्सेज प्रालिले भाडामा लिएर बनाएको टिनको टहरामा कोठामा भाडामा लिएर बस्दै आएका थिए । टहरामा उनकी श्रीमतीसहित श्रीमतीको पहिलेको श्रीमानपट्टीकी छोरी (झट्केलो छोरी) समेत बस्दै आएकी थिइन् ।

बुधबार (माघ १४ गते) यादवले झट्केलो छोरीमाथि बलात्कार गरी हत्या प्रयास गरेका प्रहरीको भनाइ छ । जम्बुडाँडामा एउटा महिलाको हत्या प्रयास भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल (यादवले भाडामा लिएको कोठा)मा एउटा युवती रगताम्य अवस्थामा भेटिएपछि प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घटनाको अनुसन्धानका क्रममा यादवले युवतीमाथि बलात्कार गरी हत्या प्रयास गरेको देखिएको थियो ।

बलात्कार गरी ज्यान मार्ने प्रयास गर्दा युवती चिच्याएपछि यादव त्यहाँबाट भागेका थिए । काठमाडौंबाट भागेका उनी धनुषामा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यादवले बलात्कार पछि हत्या गरेकी युवतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पीडित युवती अहिलेसम्म पनि अचेत रहेकी प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका यादवमाथि जवरजस्ती करणी र ज्यान मार्ने उद्योग गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।