आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : 2021-02-13
  • nepaltale.com

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार अहिले (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्यसम्म, अन्य पहाडी भेगमा आंशिक बदली र देशका बाँकी भागमा मौसम सामान्यतया सफा छ ।



मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा महशाखाले अनुरोध गरेको छ ।