संसदको गणितले साथ दिए काँग्रेसले सरकारको अगुवाई गर्ने

काँग्रेस एक भए संसारको कुनै तागतले हराउन सक्दैन : देउवा

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • nepaltale.com

झापा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताएका छन् । तर, काँग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमाले कसैसँग पनि सक्झौता नगर्ने बताएका छन् ।

पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार झापा आइपुगेका काँग्रेस सभापति देउवाले मंगलबारको कार्यक्रममा सरकारका विषयमा भन्दा पनि आफ्नो पार्टीको एकतामा बढी जोड दिए ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने बताए ।

पार्टी एक भए फेरि पनि चुनाव जित्न सकिने र राजनीतिक दलहरूलाई जवाफ दिन सकिने बताउँदै देउवाले भने, ‘एकता नै पार्टीको जग हो । हामी एक भयौँ भने संसारको कुनै तागतले हराउन सक्दैन ।’

प्रजातन्त्र रक्षाका लागि हिजो राजतन्त्र हटाउनु परेको बताउँदै देउवाले भने, ‘नेपाली काँग्रेस एकमात्र प्रजातन्त्रवादी पार्टी हो, नेपाली काँग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता गर्न सक्दैन, चाहे माओवादी होस् चाहे एमाले ।’

सरकार निर्माणका लागि संख्या आवश्यक पर्ने भन्दै त्यो संख्या निश्चित भए नेपाली काँग्रेसले सरकारको अगुवाइ गर्ने सभापति देउवाले बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका अर्का नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसले मुलुकलाई वैचारिक र साङ्गठानिक अगुवाइ गर्नुपर्ने बताए । सिटौलाले भने, ‘अहिले नेपालको राजनीति सङ्कटोन्मुख छ, संकटग्रस्त भइसकेको छैन । त्यसलाई बचाउने र जनताको अधिकारलाई बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’

कार्यक्रममा बोल्दै काँग्रेसका नेता केशवकुमार बुढाथोकीले काँग्रेसले प्रधानमन्त्री बन्न हतार गर्न नहुने बताए । तर, चुनाव गराउन नेपाली काँग्रेसकै सरकार आवश्यक हुनेमा बुढाथोकीले जोड दिए । अर्का वक्ता काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मार्ने र शालिक बनाउने कार्यको अन्त्य हुनुपर्ने बताए ।