गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या १५ सय पुगेको जनाएको छ। एनआरएनएका अनुसार कोरोनाका कारण ३६ जना नेपालीकाे मृत्यु भएकाे छ।
बेलायतमा २१, अमेरिकामा १०, युएईमा ३, आयरल्याण्डमा १ र टर्कीमा १ जना गरी ३६ जना नेपालीकाे काेराेनाका कारण मृत्यु भएकाे हाे। टर्कीमा ज्यान गुमाएका नेपालीले कोरोना संक्रमण भएपछि आत्महत्या गरेको एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले बताए।
कोरोना संक्रमित हुनेहरुमा सबैभन्दा बढी अमेरिकामा ८ सय, युरोपियन मुलुकहरुमा ४ सयभन्दा बढी र बाँकी मलेसिया र खाडी मुलुकमा गरेर १५ सय नेपालीमा कोरोना संक्रमण भएकाे एनआरएनएले उल्लेख गरेको छ।
एनआरएनएको कोभिड- १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार युएईमा ७५, कतारमा ५०, बहराइनमा ४९, कुवेतमा ३४, साउदीमा ४ र मलेसियामा ३ जना नेपाली कोरोना संक्रमित भएका छन्।
कोरोना संक्रमित मध्ये युएईमा २, साउदीमा ३, मलेसियामा २ र बेलायतमा १ गरी ८ नेपाली निको भएका छन्।
संघले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको अवस्था बारे सूचना संकलन गरिरहँदा कतिपय मुलुकहरुले कोरोना संक्रमितहरुको राष्ट्रियता नखुलाएकाले यकिन तथ्यांक अझै आउन नसकेको संघका उपाध्यक्ष बद्री केसीले बताए।