कोरोना भाइरसको उद्गमस्थिल मानिने चीनमा फेरि भाइरस फर्किने त्रास बढेको छ। कोरोना संक्रमण मत्थर बनेपछि ७४ दिन लामो लकडाउन केही दिनअघि खुलेको थियो। लकडाउन खुलेपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको थियो । मानिसहरु विस्तारै सार्वजनिक स्थलमा जान थालेका थिए। तर यहाँ फेरि कोरोना फर्किने त्रास बढेको छ।
कोरोना संक्रमण फर्किने त्रास बढेपछि चीनको राजधानी बेइजिङमा रहेका सबै जिमखाना बन्द गरिएको छ। चीनमा यस नयाँ कोरोना संक्रमणलाई दोस्रो लहरको संक्रमण पनि भनिन थालेको छ। यसै कारणले गर्दा चीनले राजधानी बेइजिङमा जिम र स्वीमिङ पुल पनि अनिश्चित कालका लागि बन्द गराएको हो। कोरोना संक्रमणका धेरै जसो केस चीनको उत्तर पश्चिम क्षेत्रमा आएका छन्। उत्तर पश्चिम प्रान्त शानक्सीमा विदेशबाट फर्किएका ७ जना नयाँ संक्रमित थपिएका थिए।
यी सबै मानिस रुसबाट चीन फर्किएका थिए। केही दिनअघि कोरोना संक्रमण भेटिएको भन्दै चीनको एक शहरलाई पूरै शील गरेको समाचार सार्वजनिक भएको थियो। चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने ८२ हजार ८ सय २७ जना संक्रमित बनेका छन्।