नेपाल-खनालसहितका नेताहरू नयाँ पार्टी गठनको तयारीमा

  • प्रकाशित मिति : २०७८ जेष्ठ ११, मंगलवार
  • nepaltale.com

काठमाडौँ- एमालेको साधारणा सदस्यबाट समेत निष्कासित भएका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललागयतका नेताहरू नयाँ पार्टी गठनको गृह कार्यमा लागेका छन् ।

त्यसका लागि आन्तरिक छलफल तीव्र पारेको सो समूहले आफू निकटका कानून व्यवसायीहरूसँग नयाँ पार्टी दर्तालगायतका विषयमा आन्तरिक छलफल शुरू गरेको छ ।

‘राजनीति गर्ने मान्छेले नयाँ प्लेटफर्म खोज्नु कुनै आश्चर्यको विषय हैन, केपी ओली पार्टी त के राष्ट्र नै ध्वस्त पार्न लाग्नु भएको छ, हामी नयाँ पार्टी गठनको गृहकार्यमा लागेका छौँ, नेता युवराज ज्ञवालीले खबरहबसँग भने, ‘कसरी अघि बढ्ने भन्नेमा कानून व्यवसायीसहित आन्तरिक छलफलमा नै छौँ । केही दिनमा नयाँ पार्टी घोषणा हुन सक्छ ।’

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापनामा हस्ताक्षर गरेका नेपाल-खनालसहितका ११ सांसदलाई पार्टी गतिविधिविरुद्ध लागेको आरोपमा एमाले स्थायी कमिटी बैठकले सोमबार साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरेको छ ।

निष्कासित गरिएकाहरूमा नेपाल-खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु छन् ।

देउवाको पक्षमा लागेका अरू १२ सांसदलाई पनि २४ घण्टे प्रष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण मागिएमा एमाले उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसहित जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, मेटमणि चौधरी, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, दीपक प्रकाश भट्ट, नारायण र विरोध खतिवडा छन् । तर ती नेताहरूले पनि जवाफ नदिने खतिवडाले बताए ।

‘पार्टीकै सदस्य नरहने भएपछि प्रष्टीकरण दिनु के अर्थ छ र म त दिने मुडमा छैन, सम्भवत बाँकी साथीहरूले पनि दिनुहुन्छ, तै पनि एक पटक सल्लाह गर्छौँ,’ खतिवडाले भने ।

निष्कासनपछि के भने नेपाल-खनालले ?

एमालेको साधारण सदस्यसमेत नरहने गरि निष्कासित भएको सूचना थाहा पाएपछि नेता नेपालले केपी ओली विदेशीको प्रिय बन्न कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न उद्यत भएको टिप्पणी गरेका छन् ।

यसअघि नै नयाँ पार्टी बनाउने उद्घोष गरेका नेता नेपालले ओलीको पछिल्लो कदम ‘केशरजंग रायमाझी’ प्रवित्तिको नयाँ अवतार भएको बताएका छन् ।

पार्टी निर्माणमा कुनै भूमिका नभएकै व्यक्तिले कारबाही गर्‍यो भन्नु आफैँमा ‘हाँस्यास्पद’ रहेको पनि उनले बताएका छन् ।

झलनाथ खनाल, मुकुन्द न्यौपानेलगायतका संस्थापक नेताहरू एमालेको साधारण सदस्य पनि नरहने अवस्था आउनु भनेको अत्यन्तै भत्सर्नायोग्य कदम भएको उनले टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका पूर्वमहासचिव रायमाझी राजसभा स्थायी समितिका सभापतिसमेत बनेका थिए । रायमाझीले कम्युनिष्ट आन्दोलनलाई दरबारमा बुझाउने प्रयत्न गरेको आरोप लाग्दै आएको छ ।

अर्का वरिष्ठ नेता खनालले ओलीको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन् ।

‘ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण कामबाट कोही पनि डराउन्न, मान्छेका लासहरुमाथि शासन गर्ने अमानवीय व्यक्तिलाई जतिसक्दो शासनसत्ताबाट बिदाइ गर्नु पर्छ,’ खनालले भने ।

यस्तै नेता भीम रावलले पार्टीका संस्थापक नेताहरूमाथि भएको कारबाही हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाएको भन्नु फुटवादको निरन्तरता भएको उल्लेख गरेका छन्‌।