कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

  • Published Date : 2021-06-01
  • nepaltale.com

काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् ।



वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको उनले बताए ।

‘वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएका छन्,’ डा. पौडेलले भने, ‘त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको सूचना पाएका छौं । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएको खबर आएको छ ।’

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका डा. निरज सिंहले बताए ।

यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । ‘तीन जना कोरोना संक्रमितमा कालो ढुसीसँग मिल्दो लक्षण देखिएका थिए,’ डा पाण्डेले भने, ‘दुई जनाको उपचार प्रक्रिया नथाल्दै मृत्यु हुन गयो । एकजनालाई भने काठमाडौं रेफर गरिएको थियो ।’ -अनलाइनखबर