राउटे युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी

  • Published Date : 2021-06-07
  • nepaltale.com

काठमाडौं। दुई राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ ।

मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।



उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।