ओली पक्षलाई अर्को धक्का : गण्डकीमा ढल्यो मुख्यमन्त्री गुरुङको सरकार

  • प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार
  • nepaltale.com

काठमाडौं। गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन्।

आज भएको मतदानमा उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ।

अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए। तर उनको पक्षमा २७ मत मात्र परेको हो।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे। नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन्।

मुख्यमन्त्री गुरुङको हार प्रधानमन्त्री केपी शर्मा ओली पक्षका लागि अर्को हार हो। हाल विभिन्न क्षेत्रमा भएका चुनावमा कुनै पनि ठाँउमा ओली पक्षले जित्न सकेको छैन।