जापान सरकारले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई वसन्त सम्राट श्रृंगार पदक अर्डर अफदि राइजिङ सन प्रदान गरेको छ।
नेपालस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्ति प्रकाशित गरी बुधबार जानकारी गराएअनुसार विदेशी नागरिकलाई समेत प्रदान गरिने यो पदक प्रतिनिधि सभाका सभामुख भई सफलताका साथकार्य गरेका कारण पौडेललाई प्रदान गरिएको हो। यस पदकको नाम स्प्रिङ्ग इम्पेरियल डेकोरेसन, २०२० रहेको छ ।
पौडेललाई सभामुख हुँदा उनले नेपाल–जापानबीच प्रतिनिधि सभाको सम्बन्ध विस्तारमा उल्लेख्य योगदान गरेबापत यो सम्मान प्रदान गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।
पौडेलले नै २०५६ सालमा नेपाल–जापान फ्रेण्डशिप पार्लियामेन्टारियन लिग गठन गरेका थिए ।
निरन्तर १८ वर्षसम्म लिगको नेतृत्व गरेका पौडेलले यसबीच दुई देशको सम्बन्ध विस्तारमा योगदान दिएको जापान सरकारको ठहर छ।
उनकै कार्यकालमा जापानी पाहुनाहरु युवराज अकिहितो, युवराज्ञी मिचिको, प्रधानमन्त्री योसिरो मोरी, परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची लगायतले नेपालको भ्रमण गरेका थिए।