रामानन्द सागरले निर्देशन गरेको लोकप्रिय हिन्दी धारावाहिक रामायण अप्रिल १६ मा संसारमै सबभन्दा बढी हेरिएको शो भएको दूरदर्शनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिएको छ । त्यो दिन सात करोड ७० लाख मानिसले रामायण हेरेको बताइएको छ ।
दूरदर्शनले लेख्यो, ‘दूरदर्शनमा रामायणको पुनः प्रसारणले संसारभरि हेरिएको कीर्तिमान तोडेको छ । अप्रिल १६ मा यो शो संसारमा सबभन्दा बढी हेरिएको शो बनेको छ ।’
जनताको मागबमोजिम रामायण मार्च २८ बाट पुनः प्रसारण भइरहेको छ । पहिलोपटक प्रसारण हुँदाखेरी नै उक्त धारावाहिकले लोकप्रियताका सबै कीर्तिमान भंग गरेको थियो । अहिले शोले इतिहास दोहोर्याएको छ ।
वाल्मीकिको रामायण तथा तुलसीदासको रामचरितमानसमा आधारित रही रामानन्द सागरले ७८ भागको धारावाहिक बनाएका थिए ।
सन् १९८७ को जनवरी २५ देखि सन् १९८८ को जुलाई ३१ सम्म रामायण प्रत्येक आइतवार बिहान ९ः३० मा प्रसारण गरिन्थ्यो ।
सन् १९८७ देखि १९८८ रामायण संसारमा सबभन्दा बढी हेरिने धारावाहिक थियो । सन् २००३ को जुन महिनासम्म यो विश्वमा सबभन्दा बढी हेरिएको धार्मिक सिरियल भएको कीर्तिमान लिम्का बूक अफ रेकर्ड्समा दर्ज छ ।